भैरहवा मंसिर २०/
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितमा मंगलबारको खेलमा काशी नोबल एकेडेमी, भैरहवा र शान्ति नमूना मावि, मणिग्राम विजयी भएका छन् । काशी नोबलले नव ज्योति इङ्गलिस बोर्डिङ स्कूल, मणिग्रामलाई ५ विकेट र शान्ति नमूनाले देवदह बुद्ध माविलाई ५६ रनले पराजित गरेको हो ।
यसअघि टस जितेर ब्याटिङ गरेको नवज्योतिले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो । उसका लागि शिव कुँवरले ६५ र लक्ष्मण घिमिरेले १२ रन बनाए । बलिङमा काशी नोबलका सुप्रित घिमिरेले ४, सुजन रानाभाटले ३ र संदीप रोकाले १ विकेट लिए । काशीका सोनम लामा म्यान अफ द म्याच भई ५ सय रुपैयाँ प्राप्त गरे ।
जवाफी ब्याटिङ गरेको देवदह १५.४ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमै समेटियो । उसका लागि आयुष ठडराईले १७ र आकाश न्यौपानेले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्न शान्ति नमूनाका आशुतोष पाण्डेले ५, स्वस्तिक पराजुलीले २ तथा रुविन पराजुली र सागर भण्डारीले समान १–१ विकेट लिए । खेलमा शान्ति नमूनाका आशुतोष पाण्डे म्यान अफ द म्याच भई ५ सय रुपैयाँबाट पुरस्कृत भए ।
प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपबिजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ । निजी र संस्थागत गरी १३ विद्यालय सहभागी प्रतियोगिता मंसिर २४ गतेसम्म संचालन हुनेछ ।