भैरहवा, १ मंसिर ।
पूर्व गृहमन्त्री निरञ्जन थापाले निर्वाचनको बेला सत्ताको दुरुपयोग भएको बताएका छन् । उनले प्रहरी प्रशासनले सबैलाई समान रुपमा हेर्नुपर्ने बताए । नेकपा एमाले, राप्रपा र जसपाले बिहीबार भैरहवामा आयोजना गरेको चुनावी सभामा बोल्दै थापाले सियारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अरुण शाहीको पार्किङ गरी राखिएको सवारीसाधनको खानतलासी दादागिरी शैलीमा गरिएको बताए । उनले भने, ‘म पूर्व गृहमन्त्री भएकाले सचेत गराउन चाहन्छु, प्रहरी प्रशासनले तल माथि गर्नुहुँदैन, गैरकानूनी कार्य गर्नुुहुँदैन । ’
उनले पाँचदलीय गठबन्धन सरकार पुनः बने मुलुक अस्तव्यस्त बन्नुका साथै आर्थिक संकटमा जाने दावी गरे । नेता थापाले प्रधानमन्त्री बनाउन नसक्नेले के गर्छ भन्दै प्रश्न गरे । नेपाली कांग्रेसले पनि तीनदलीय तालमेलका उम्मेदवारलाई मत दिने उनले दावी गरे । उनले भने, ‘२०७४ सालमा नेपाली कांग्रेसले नै दीपक बोहरालाई उम्मेदवार बनाएको थियो, त्यसैले कांग्रेसले पनि यसपटक बोहराजीलाई नै मत दिएर जिताउँछ ।’
त्यस्तै नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज खिमलाल भट्टराईले नेपाली कांग्रेस र माओवादीबाट मुलुकको विकास सम्भव नभएको बताए । उनले मुलुकले एमालेको नेतृत्व खोजिरहेको बताए । उनले एमाले नेतृत्वमा सरकार हुँदा मुलुकमा धेरै राम्रो काम भएको दावी गरे । उनले कालापानीबाट भारतीय सेना हटाउनुपर्छ भन्ने कुरा गृहमन्त्री बालकृष्णले भन्न सक्नुहुन्छ भन्दै प्रश्न गरे ।
नेता भट्टराईले भने, ‘नेपाली कांग्रेस र माओवादीले संघीयता बदनाम गराउने काम गर्यो, एमाले नेतृत्वमा प्रदेश सरकार हुँदा मन् त्रीमण्डलमा ६–७ जना मन्त्री हुनुहुन्थ्यो, तर गठबन्धन सरकारले १७ वटासम्म मन्त्री बनायो । भैरहवाको विकासको पर्यायवाची र भैरहवाको धर्तीपत्र दीपक बोहराको बारेमा जनताले राम्रोसँग बुझेको बताए । उनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिए ।
एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार तुल्सी प्रसाद चौधरीले तीनदलीय तालमेललाई निर्वाचन जित्नबाट कसैले रोक्न नसक्ने दावी गरे । उनले कांग्रेसका उम्मेदवारले हामीलाई जिताउनुस् काम गर्छौ भनिरहँदा सरकारमा भएका बेला काम गर्न कसले रोक्यो भन्द्र प्रश्न गरे । दीपक बोहरालाई उम्मेदवार बनाएर आफूहरुले कांग्रेसका लागि अझ सहज बनाइदिएको बताए । उनले भने, ‘दीपक बोहरालाई २०७४ सालमा कांग्रेसले समर्थन गरेर उम्मेदवार बनाएको थियो, तर त्यतिबेला बोहराजी जित्न सक्नुभएन अहिलेको निर्वाचनमा कांग्रेसलाई यो अवसर मिलेको छ ।’
जसपा केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले यसपटक जनताले झुटो आश्वासन दिने उम्मेदवारलाई मत नदिने बताए । उनले मंसिर ४ गतेको न्यायाधिश जनता भएको बताए । नेता यादवले भने, ‘मुलुक खतरामा छ, मुलुक बचाउन तीनदलले जित्नुपर्छ । ’
राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले दीपक बोहराले गरेको कामहरुबारे यहाँको जनताले राम्रोसँग बुझेको बताइन् ।
जसपा नेता सियाराम यादवको अध्यक्षता, राप्रपा केन्द्रीय सदस्य स्वाती थापाको स्वागत तथा एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।