बुटवल कात्तिक ४/
सत्ता गठबन्धनका पाँच दलले रुपन्देहीको बुटवलमा संयुक्त प्रशिक्षण कार्यक्रम गरेका छन् । शुक्रबार आयोजित प्रशिक्षणमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका शीर्षस्त नेताहरुले बोल्दै जसरी पनि गठबन्धनलाई जिताउनुपर्ने जनाउँदै एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरे ।
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने बताए । गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न उनले आग्र गरे । ‘अझै केही वर्ष गठबन्धन आवश्यक छ, यसलाई बचाउनु पर्ने छ, त्यसैले तपाईंहरु एकढिक्का भएर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुस्’, देउवाले भने ।
मुलुकको लागि सत्ता गठबन्धन बचाउन अपरिहार्य छ । गठबन्धनप्रति कुनै पनि बहानामा शंका, उपशंका नगर्न आग्रह गर्दै परिवर्तन र संविधान बचाउनको लागि ठूलो हृदयका साथ निर्वाचनमा लाग्न आग्रह गरे ।
‘देश अहिले महत्वपूर्ण मोडमा उभिएको छ’ सभापति देउवाले भने, ‘ठूलो लडाइँबाट ल्याएको संविधान, गणतन्त्र र संघीय व्यवस्थालाई सिध्याउने प्रयास भइरहेको छ । प्रतिगमनकारी शक्तिबाट अहिलको अवस्थालाई बचाउनुपर्छ । त्यसैले कही कतै भ्रम सिर्जना गर्न हुँदैन ।’
‘अहिले हाम्रो गठबन्धनबाट मलाई प्रधानमन्त्री बनाइएको हो’ सभापति देउवाले संवोधनका क्रममा भने, ‘गठबन्धनप्रति शंका गर्ने ठाउँ दिनुहुँदैन । नेपालमा परिर्वतन बचाउन पनि गठबन्धन आवश्यक छ ।’ गठबन्धनको कारण सबैलाई उम्मेदवार बनाउन नसकेको बताउँदै देउवाले टिकट नपाएको भन्दैमा अहिलेको सिस्टम गुम्न दिन नहुने बताए । भोलि पनि गठबन्धनकै सरकार बन्ने बताउँदै एक भएर जान सबैलाई देउवाले आग्रह गरे ।
‘लालसलाम पनि हामी हौँ । जय नेपाल पनि हामी हौँ’, देउवाले भने, ‘उदार हृदयका साथ कांग्रेसले टिकट पाएको ठाउँमा माओवादीका साथीहरूले जिताउन लाग्नुहोस् । माओवादीले पाएको ठाउँ कांग्रेससहित सबै दल लाग्नुहोस् अन्य दलले पाएको ठाउँमा पनि सबै एक अर्काका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन परिवर्तन रक्षाधर र परिवर्तन उल्लटाउने शक्तिबीचको लडाइँ रहेको बताएका छन । त्यसको अन्तिम फैसला मंसिर ४ गतेको निर्वाचन रहेको बताए । अहिलेको गठबन्धन निर्वाचन जित्नको लागि बनाएको नभई राष्ट्र लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि भएको भन्दै ढुक्कसँग गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउनेविरुद्ध आफूहरु गठबन्धन गरेर निर्वाचनमा गएको दाबी गरे । ‘मंसिर ४ को निर्वाचनमा कुन नेता वा दलले जित्ने हार्नेमात्र नभई देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्नेछ’, उनले भने, ‘यही कारण राजनीतिक सहमति गरी हामी गठबन्धन बनाएर अघि बढेका छौं ।’
दाहालले खाली निर्वाचन जित्नमात्रै गठबन्धन नबनाएको भन्दै प्राप्त उपलब्धि रक्षा गर्न सैद्धान्तिक धरातलमा आधारित रहेको बताए । प्रचण्डले भने, ‘अहिले प्रस्टसँग दुइवटा ब्याटल देखिएको छ । देशले जित्ने हो कि होइन, संविधानले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर आएको छ र जसरी पनि दिनुपर्छ ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले चुनाव जिते देश छाडने हिँड्नुपर्ने अवस्था आउने दाबी गरेका छन् । सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको भेलामा बोल्दै नेता नेपालले ओलीलाई हेर्दा नयाँ तानशाह र हिटलरको जन्म भएजस्तो लाग्ने बताउँदै उनीसँग होसियार हुनुपर्ने आवश्यकता रहेको बताए ।
‘ओली सुध्रिनेवाला छैनन् । नयाँ तानाशाह र हिटलरको जन्म भएको जस्तो छ । होसियार रहनुहोस् । बहुमत ल्याए भने देश छोडेर भाग्नुपर्छ । उनीसँग प्रतिगामी शक्तिसँग साँठगाँठ छ । इतिहासको रक्षानमा फालिएको शक्तिसँग उनको साँठगाँठ छ’, उनले भने । अधिनायकबादीलाई रोक्न एकताबद्ध भएर लाग्न नेपालले कार्यकर्ताहरूलाई आग्रह गरे ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले गठबन्धनको एकता देखेर प्रतिगमनकारी आतिएको आरोप लगाए । सत्तारुढ गठबन्धनको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण भेलामा बोल्दै गृहमन्त्री खाँणले सत्तारुढ गठबन्धनको एकता देखेर अतालिदै प्रतिगमनकारीहरुले विभिन्न हतकण्ड अपनाउन थालेको बताउँद गठबन्धनलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले प्रतिगमनविरुद्ध ५ दलीय गठबन्धन बनेको र आगामी निर्वाचनमा पनि कायम राख्नका लागि सत्तारुढ गठबन्धनले जित्नुपर्ने बताए । ‘हामीले नजिते फेरि प्रतिगमन फर्कन सक्छ, यसतर्फ सचेत हौं’, उनले भने । उनले प्रतिगमनविरुद्ध र राष्ट्रियताका लागि नै आफ्नो दल गठबन्धनमा रहेको जनाए ।