पोखरा कात्तिक ३ /
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित कुल ३७१ पदकका साथ नवौँ राष्ट्रिय खेलकुद २०७९ को च्याम्पियन बनेको छ। सहभागी अन्य १० टोलीलाई पछि पार्दै आर्मी च्याम्पियन बनेको हो।
च्याम्पियन बनेका आर्मीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय खेलकुदको ट्रफी हस्तान्तरण गरेका थिए। आयोजक राखेपले करिब १० लाख खर्च गरी यस वर्षदेखि ट्रफी बनाएको हो।
यसैगरी, उपविजेता बनेको सशस्त्र प्रहरीको एपिएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २१९ पदक हात पार्न सफल भएको छ ।
प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएनए गरी ११ टोली सहभागी थिए। सहभागी सात प्रदेशमध्ये घरेलु टोली गण्डकी ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्य गरी कुल १२० पदक प्राप्त गर्न सफल भएको छ।
प्रतियोगितामा सहभागी कुल ३६ खेलका ३९६ विधामा पुरुष तीन हजार ४१४, महिला दुई हजार ७१३ गरी कुल ६ हजार १२७ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा समावेश गरिएका ३६ खेल गण्डकीका आठ जिल्लामा सञ्चालन गरिएको थियो।
सहभागी खेलाडीहरूमध्ये कान्छो खेलाडीको रूपमा रीतिका बुमी रहेकी थिइन्। ७ वर्ष २२ दिनकी बुमी पौडी खेलाडी हुन् । उनी सुदूरपश्चिम प्रदेशबाट सहभागी भएकी थिइन्।
यसैगरी, जेठो खेलाडीको रूपमा धनबहादुर घले रहेका थिए। प्रदेश १ बाट स्क्वास खेलमा भाग लिएका घले ६१ वर्ष ४ महिनाका हुन्। १० औँ संस्करण २ देखि ९ मंसिर २०८१ मा कर्णाली प्रदेशमा हुने भएको छ ।