Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

१३ बुँदे माग राख्दै लोसपा रुपन्देहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो


  • लुम्बिनी चिन्तन
  • आषाढ २८, २०७९ मंगलवार
  • 372
    SHARES

१३ बुँदे माग राख्दै लोसपा रुपन्देहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

भैरहवा असार २७/

विभिन्न १३ बुँदे माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) जिल्ला कार्यसमिति, रुपन्देहीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । 

गत जेठ २४ गते प्रधानमन्त्री देउवासमक्ष ज्ञापनपत्र दिइएकोमा हालसम्म पनि माग सुनुवाइबारे ठोस परिणाम नआएकाले सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत ज्ञापनपत्र बुझाइएको लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्माले बताए ।

जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने र वैवाहिक अंगीकृतलाई वर्तमान कानून अनुसार नै नागरिकता दिने कार्य हालसम्म हुन नसकेकाले दु्रत गतिमा अगाडी बढाइ कार्यान्यवन गर्नुपर्ने, मधेश/थरुहट लगायत विभिन्न आन्दोलनमा लगाइएका झुटा मुद्दा फिर्ता गरी रेशम चौधरी लगायत राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्नुपर्ने, विभिन्न उत्पीडित समुदाय मधेशी, थारु, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम लगायतको सम्मान, पहिचान र अधिकार प्राप्तीका लागि संविधान संशोधन गर्नुपर्ने र दीर्घकालिन योजना बनाइ धान उत्पादनको प्रमुख क्षेत्र थरुहट र मधेशको विभिन्न भागमा भूमिगत सिचाइ योजना लागू गर्नुपर्ने लोसपाले ज्ञापनपत्रमार्फत माग गरेको छ ।

त्यस्तै कृषि कार्यमा प्रयोग हुने डिजल कृषकले उपयोग गरेको क्षेत्रफलको आधारमा सुलभ मूल्यमा उपलब्ध गराउनुपर्ने, ग्रामीण क्षेत्रमा विद्युत आपूर्ति २४ सै घण्टा निर्वाध रुपमा सञ्चालन हुनुपर्ने, जेठ २३ गते जारी भएको भू–उपयोग नियमावली अत्यन्त अव्यहारिक, असान्दर्भिक र साना किसानको हितविपरीत रहेकाले अविलम्ब खारेज गर्नुपर्ने, देशभरीका स्वास्थ्यकर्मीलाई कोभिडको समयमा दिने भनी घोषणा गरिएको जोखिम भत्ता हालसम्म वितरण नगरिएकाले अविलम्ब दिनुपर्ने लोसपाको माग छ ।

त्यसै गरी जनसंख्याको आधारमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने, तीनै तहको सरकारद्वारा जनघनत्वको आधारमा समतामूलक बजेट वितरणको सिद्वान्त लागू गर्नुपर्ने, तीनै तहको सरकारले रोजगारीको अवसर सिर्जना गर्ने तवरले योजना तर्जूमा गरी सो को कार्यान्यवन गर्नुपर्ने, मधेशी, आदिवासी, जनजाति, थरुहट आन्दोलनसम्बन्धमा गठित गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, आकाशिएको महंगी र कालोबजारी अविलम्ब नियन्त्रण गर्नुपर्ने, बाढीपहिरो नियन्त्रणका लागि तत्कालिन/अल्पकालिन/दीर्घकालिन कार्यक्रम लागू गर्नुपर्ने र विस्थापितहरुको बसोबासको व्यवस्था गर्नुपर्ने, अरबौं लगानीलाई खेर नफाल्न अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण निजगढमा निर्माण हुनुपर्ने लोसपाले माग गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार