२४ असार ।
राप्रपाले भ्रष्टाचार नियन्त्रणसहितका २२ बुँदे माग राखेर देशभर प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहितको टोली १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे ज्ञापनपत्र सम्बोधनको माग राखेर शुक्रबार देशभर प्रदर्शन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शुक्रबार देशभरि नै सानाठूला प्रदर्शनसहित ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिइएको छ ।
आफ्नो माग पुरा गराउन दबाब दिने उद्देश्यले राप्रपा १३ असारदेखि आन्दोलनमा उत्रिएको छ । राप्रपाले १३ असारमा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्दै ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापनपत्र र धर्ना दिएको थियो ।
उनका अनुसार सोही कार्यक्रमको निरन्तरता स्वरूप शुक्रबार भ्रष्टाचार नियन्त्रणको मागसहित देशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको हो ।
राप्रपाको विद्यार्थी संगठनले २७ असारमा देशभर सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन र कक्षा १२ सम्मको अध्ययन निःशुल्क गराउन माग गर्दै शिक्षामन्त्रीलाई र ३१ असारमा महिला संगठनले महिला हिंसाका घटनाबारे महिला, बालबालिका मन्त्रीलाई विविध कार्यक्रम सहित ज्ञापनपत्र पेस गर्ने कार्यक्रम रहेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।