भैरहवा, २२ वैशाख ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगर समितिले स्थानीय तहको निर्वाचनको प्रतिज्ञा पत्र सार्वजनिक तथा उम्मेदवार परिचय कार्यक्रम सम्पन्न गरेको छ । भैरहवामा बुधबार पत्रकार सम्मेलन गरी उसले प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो ।
प्रतीज्ञा पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पर्यटन तथा वातावरण, विद्युत् तथा भौतिक पूर्वाधार निर्माण, सूचना तथा सञ्चारलाई जोड दिइएको छ । त्यस्तै, मेयर शिक्षा योजना कार्यक्रम लागु गर्ने जनाइएको छ ।
‘कक्षा १२ सम्मको सम्पूर्ण शिक्षा निःशुल्क प्रदान गर्ने, प्रतिष्पर्धाबाट प्रत्येक वर्ष ५ जनालाई एमबीबीएस तथा १० जनालाई इञ्जिनियरिङ शिक्षाका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ’, प्रतिज्ञा पत्रमा भनिएको छ । एक घर एक रोजगारी कार्यक्रमको थालनी गरिने जसमा एक घरधुरीलाई कम्तीमा एक रोजगारीको व्यवस्था गरिने प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ ।
महिला, जेष्ठ नागरिक तथा विद्यार्थीहरुका लागि नगरबसको व्यवस्था गर्ने, सिद्धार्थनगरको एउटा विशेष स्थानलाई वाकिङ स्ट्रिट बनाई पर्यटन प्रबद्र्धन गर्ने, एक घर दुई रुखको अवधारणा, निःशुल्क भोजनको लागि फुडब्यान्क लगायतका स्थापना गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ ।
प्रतिज्ञापत्रमा उल्लेख भएका कुराहरु आफू निर्वाचित भए नगर विकासमा लागू गर्ने, भेदभावरहित विकास गर्ने जसपाबाट सिद्धार्थनगरका मेयर पदका उम्मेदवार मात्रिका प्रसाद यादवले बताए । उनले सबैको सल्लाह सुझाव अनुसार अगाडी बढ्ने बताए । उनले भने, ‘कुनै भेदभाव बिना नगरको विकासमा लाग्छौं, त्यसैले जसपाका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्दछु ।’
परिचय तथा घोषणापत्र सार्वजनिक कार्यक्रममा उपमेयर उम्मेदवार आश्मा खातुनले विशेष गरी शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा काम गर्ने बताइन् । उनले भनिन्, ‘महिलालाई अगाडी बढाउँछु ।’
कार्यक्रममा बोल्दै जसपा लुम्बिनी प्रदेशका वरिष्ठ नेता महेन्द्र यादवले जसपालाई अवसर दिए काम गरेर देखाउने दावी गरे । उनले जसपाको जीत सुनिश्चित भइसकेको दावी गरे ।
पार्टीका लुम्बिनी प्रदेश सदस्य रवि कुमार रौनियारले जसपाले सबै जाति र समुदायलाई समेटेकाले यो सबैको साझा पार्टी भएको बताए ।
जसपा लुम्बिनी प्रदेश सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज मोहम्मद अलीले सिद्धार्थनगर जसपामय भएको बताए ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य किस्मत वि.क., सिद्धार्थनगर नगरपालिकामा जसपाबाट वडाअध्यक्ष, वडा सदस्यका उम्मेदवार लगायतको उपस्थिति रहेको थियो ।