भैरहवा बैशाख १२
स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो ।
आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र सदस्य पदका लागि मनोनयन हुनेछ ।
साना दल र केही स्वतन्त्र उम्मेदवारहरूले आइतबार नै उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आइतबार १०५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर, ठूला दलहरूमा आन्तरिक किचलो र गठबन्धनमा भागबन्डा नमिलेका कारण पहिलो दिन उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।
उम्मेदवारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।