भैरहवा, १४ चैत ।
नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीको आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
सो अवसरमा गत निर्वाचनमा थोरै मतान्तरले प्रदेश सभामा पराजित मुश्लिम नेता हजरत अली, वारिस अली खाँ, वसीम खाँ, माया खनाल, लक्ष्मी अधिकारी, सीता खड्का लगायत जसपा, काँग्रेसलगायतका पार्टीबाट ३ सय कार्यकर्ता एमाले प्रवेश गरेका थिए । देश र जनताको भलो एमालेबाटै हुने भएकाले आसन्न निर्वाचनमा एमाले उमेदवारलाई बिजयी गराउने अभियानका लागि आफुहरु पार्टी प्रवेश गरेको नवप्रवेशीहरुले जनाएका छन् ।
एमाले केन्द्रीय उपाध्यक्ष तथा विकासप्रेमी नेता बिष्णु पौडेलले पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई टीका लगाई स्वागत गरेका थिए । सो अवसरमा नेता पौडेलले अबको निर्वाचनले एमालेका सुर्यबाहक उमेदवारलाई विकास र समृद्धिको जिम्मा दिने ठोकुवा गरे । उनले एमालेसँग प्रतिष्पर्धा गर्न हिम्मत नभएर पाँच–पाँच दलले गठबन्धन बनाउन लागेको उल्लेख गर्दै नेता पौडेलले भने – जति दलले गठबन्धन बनाएपनि एमालेलाई केहि फरक पर्दैन, जनताको मत एमालेले नै पाउँछ ।
एमालेका जनपक्षीय कामहरुबाट आत्तिएर परमादेशबाट बनेको सत्ता गठबन्धनलाई पराजित गर्न एमाले एक्लै सक्षम रहेको भन्दै नेता पौडेलले कार्यकर्ताहरुलाई उत्साहका साथ निर्वाचनमा होमिन आग्रह गरे । उनले जनताका अपेक्षा अनुसार विकास निर्माण गरी समृद्धि ल्याउनका लागि एमालेलाई जसरी पनि जिताउनुपर्नेमा जोड दिए ।
एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य अनुप बरालले देश बनाउने जिम्मा अब एमालेको हो भन्दै त्यसका लागि निर्वाचनबाट नेतृत्व लिनुपर्नेमा जोड दिए । नेता बरालले पार्टी पद्धतिबाट चल्ने भएकाले कार्यकर्तालाई ब्यक्तिको होइन पद्धतिको अनुशरण गर्न आग्रह गरे । उनले एमालेको बिजयलाई कसैले पनि रोक्न नसक्ने भन्दै सबै प्रकारका षडयन्त्रहरुलाई चिर्दै जनतासमक्ष जानुपर्ने बताए ।
एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्रबहादुर थापाको अध्यक्षता र सचिव नारायणप्रसाद भण्डारीको संचालनमा भएको कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली उपस्थित हुने भनिएपनि जहाज ढीलो भएका कारण आउन सकेनन् ।