काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकार बीच सहमतिमा हस्ताक्षर भएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सरकारले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । विप्लव समुहले खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दीपक सम्मिलित वार्ता टोली बनाएको थियो । दुवै तर्फका बार्ता टोलीले वार्ता गरी बिहीबार सहमति गरेका थिए । सोही सहमतिलाई शुक्रबार विशेष समारोहका बीच हस्ताक्षर सहित सार्वजनिक गरिएको हो ।
हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले विगत एक बर्षदेखिको निरन्तरको प्रयास पछि वार्ता निष्कर्षमा पुगेको बताए । हस्ताक्षर समारोह आयोजित राष्ट्रियसभाहलको कार्यक्रम कक्ष स्वदेशी र विदेशी संञ्चारकर्मी र मन्त्री एवं नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खचाखच भरिएको छ । सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्नो शान्तिपूर्णरुपमा सञ्चालन गर्न तयार भएको जनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहमतिमा देशको विकास र समृद्धिको सपना लुकेको बताए । सरकारसँग ऐतिहासिक सहमति गरेपछि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार र आफ्नो पार्टीबीच भएको सहमति कुनै एक पार्टी र सरकारसँग मात्र नजोडिएको भन्दै यसमा देश विकास र समृद्धिको सपना लुकेको बताए । ‘ यो सहमति भित्र नेपाल देशलाई सवल, समृद्ध, स्वाभिमानी बनाउने सपना लुकेको छ’, उनले भने। कम्युनिष्ट भनेका विद्रोही मात्र नभएर शान्तिका दूत पनि भएको उनले बताए। सरकारसँग गरेको तीन बुँदे सहमतिप्रति आफ्नो पार्टी प्रतिवद्ध रहेको भन्दै उनले यसलाई पूर्ण रूपमा पालना गर्ने बताए। ‘हामी प्रतिवद्ध छौं, यसलाई पालना गर्छौं’, उनले भने।
३ बुँदे सहमति पत्र
१। दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।