भैरहवा, १६ पुस ।
किसानका पक्षमा विभिन्न माग राख्दै दिवा अनिश्चित कालिन राजमार्ग अवरुद्धको घोषणा गरेको सिके राउतको जनमत पार्टीले रुपन्देहीमा पनि आफ्नो आन्दोलन जारी राखेको छ ।
जनमत पार्टीका नेता कार्यकर्ताले शुक्रबार पनि भैरहवा लुम्बिनी सडक खण्डको सुण्डीमा बाटोमै टायर वालेर धर्ना दिएको पार्टीका रुपन्देही जिल्ला अध्यक्ष विष्णु प्रसाद लोधले जानकारी दिए । आन्दोलनका कारण सडक अवरुद्ध हुंदा सवारी बाटोमै अलपत्र परेका छन् ।
किसान माथि सरकारको तर्फबाट भईरहेको दमन बन्द गर, किसानहरुलाई आन्दोलनकारी भन्दै लगाईएका झुटा मुद्धा फिर्ता गर्नु गर्ने, समयमा किसानलाई मलखाद र विउ विजन उपलब्ध गराउनु गर्ने लगायतका माग राख्दै आन्दोलन गरिएको अध्यक्ष लोधले जानकारी दिए । सरकारले आफ्ना माग पुरा नगरेसम्म आन्दोलन नरोकिने पार्टीका नेताहरुले बताएका छन् । हातमा डण्डा लिएका नेता कार्यकर्ताको समुहले सडकमा टायर बाल्दै पार्टीको पक्षमा नारा लगाएका थिए । आन्दोलनको अगुवाई पार्टीका केन्द्रिय सचिव भुपेन्द्र प्र्रसाद यादव, केन्द्रिय सदस्यद्धय रामकेश गुप्ता, निर्मला हरिजन, केन्द्रिय नेताहरु विकास प्रसाद लोध, विनोद पासवान, चन्द्र शेखर सोनार, संजय मिश्र,रामदेव यादव लगायतले गरेका छन् ।