१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने बताएका छन् ।
महामन्त्री पदमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै थापाले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताए । ‘यो मतप्रति मैले न्याय गर्नुपर्छ । मसँग एक दिन पनि चुक्ने सुविधा छैन, एक दिन पनि थाक्ने सुविधा छैन । म अझै इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु’ उनले भने ।
‘महामन्त्रीको जिम्मेवारी सभापतिलाई सहयोग गर्ने हो । उहाँ चुक्नुभयो भने पार्टीको निर्णय गर्ने ठाउँमा उहाँलाई चुक्दै हुनुहुन्छ नचुक्नुस् भनेर खबरदारी गर्ने हो’ उनले भने ।
थापाले सभापति शेरबहादुर देउवालाई आफूसँग प्रतिस्पर्धा गरेकाहरुलाई समेटेर जान आग्रह गरे । पार्टीको महाधिवेशनमा तलदेखि माथिसम्म निर्वाचन गर्दा नेता–कार्यकर्ताहरुबीच घाउ लागेको र दूरी बढेको भन्दै यसलाई कम गर्नुपर्ने बताए ।