नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा पुगेपछि राजनीतिक दल र नेतृत्व किन विचलित हुन्छन् भन्ने समीक्षा गर्न जरुरी भएको बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिज्ञाअनुसार काम हुन नसकेको बताए। ‘सत्ता सञ्चालन गर्दा धर्ती छोडेको जस्तो। जनताका अगाडि गरेका प्रतिज्ञाहरूबाट विचलित भएका उदाहरण छन्। यो तितो यथार्थ हो। यसको समीक्षा गर्न जरुरी छ,‘ उनले भने। आन्दोलनमा त्यत्रो त्याग गर्न सक्ने नेताहरू किन सत्ता लिप्सामा पुग्छन् ? यसको समीक्षा गर्नुपर्ने उनले बताए।
‘गिरिजाको सपना शान्ति र संविधान’ भन्ने नारा लगाएको सम्झन चाहेको उनले बताए। शान्ति, संविधान र विकासको मिसन, राष्ट्रिय स्वाधिनताको मिसनमा विचलित हुन नहुने उनले बताए। निरंकुशताविरुद्धको लडाइँमा गरेको एकताजस्तै दलहरूबीच एकता चाहिने उनले बताए।
भारतीय जनता पार्टीका नेताले एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री पहिलोपटक देख्न पाएको भन्दै गरेको टिप्पणीप्रति प्रचण्डले भने, ‘म उहाँलाई यी सबै पूर्वप्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् भन्न चाहन्थेँ।’