भैरहवा मंसिर १५
निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले बुधबार भैरहवामा राजनैतिक दलहरु संग गरेको अन्तरकृया कार्यक्रममा अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले बताउनु भयो ।
जसअन्तर्गत मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी, सियारी, गैडहवा गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा मंसिर १७ गतेदेखि सुरु हुने छ । ७ वटा स्थानीय तहमा मंसिर १७ गतेदेखि पुस २ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन हुने भण्डारीले बताउनु भयो ।
त्यस्तै शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया गाउँपालिका तथा देवदह, तिलोत्तमा, र सैनामैना नगरपालिकामा पुस ४ देखि पुस १८ गतेदेखि सञ्चालन हुने छ । कुनै काम विशेषले आफ्नो स्थायी बसोबास भएको जिल्लाबाट अन्य जिल्लामा बसोबास गर्ने नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न छुटेको भए दर्ता गर्नका लागि मंसिर १७ गतेदेखि सम्बन्धीत जिल्ला निर्वाचन कार्यालयमा सक्कल नागरिकता प्रमाणपत्र साथै सो को फोटोकपीसहित उपस्थित भई मतदाता नामावलीमा दर्ता गराउन भण्डारीले बताउनु भयो ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही र ईलाका प्रशासन कार्यालय बुटवलमा भने निरन्तर रुपमा मतदाता नामावली दर्ता चलिरहने उहाको भनाइ छ । कोभिड–१९ तथा अन्य कारणले २०७४ सालदेखि रोकिएको मतदाता नामावली सकंलनन तथा अद्यावधिक कार्यक्रम पालिकास्तरमा लैजान लागेको उहाले बताउनु भयो । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम पालीकाहरुमा १५–१५ दिन हुने छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गर्दा कुनै समस्या भए सहकार्य गरेर समाधान गरिने बताउनु भयो । मतदाता नामावलीमा धेरै भन्दा धेरै नागरिकलाई समावेश गर्न सकिए उपलब्धीमुलक हुने उहाले बताउनु भयो । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सबै नागरिक मतदाता नामावलीमा समावेश गर्नुपर्ने बताउनु भयो । जिल्लाका बिभिन्न पालीका प्रमुखहरु , राजनैतिक दलका प्रतिनीधीहरु सहभागी अन्तरकृया कार्यक्रम जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका नायब सुब्बा बाबुराम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।