नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय ३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् । ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीवार बसेको स्थायी कमिटी बैठकले एक हजार पाँच सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।
यो निर्णयलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गराउने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार भूगोल कमिटीबाट एक हजार एक सय ९६ जना प्रतिनिधि छानिने छन् ।
जसमा पदेन २६२ जना र यसको पाँच प्रतिशत मनोनयनबाट हुने गरेर जम्मा एक हजार ५३६ जना प्रतिनिधि चयन हुने पनि उहाँले बताउनुभयो ।
जसमध्ये ३३ प्रतिशतका अतिरिक्त जनजाती, मधेशी,मुस्लिम, दलित र पिछडिएको क्षेत्रसहित ५१ प्रतिशत समावेशी र ५९ प्रतिशत खुल्ला प्रतिनिधि चयन गर्ने विषयमा केन्द्रित रहेरकाे उहाँको भनाइ छ ।
बाँकी गैर–भूगोलबाट तीन सय ४० जना प्रतिनिधि छानिने छन् । एमालेको दशौँ महाधिवेशन आउँदो मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।