भैरहवा । नेकपा एमाले रुपन्देहीका अधिकांस पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । १६ पालिका रहेको रुपन्देही मध्ये सैनामैना नगरको प्रथम नगर अधिवेशनबाट चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् । नगरकमिटी अध्यक्षका लागि बहालवाला नगर अध्यक्ष न्यौपानेसँगै सालिकराम भण्डारी र जीवनाथ पाण्डेले दाबी पेस गरेकोमा न्यौपाने सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
त्यस्तै शुद्धोधन गाउँपालिमा बिष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत चयन भएकोे छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा निसार अहमदको अध्यक्षतामा सबै नगरकमिटी सर्वसम्मत चयन भएको छ । अधिवेशनबाट उपाध्यक्षमा जगदीश यादव, सचिवमा कल्पना हरिजन, उपसचिवमा हरिकेश लोंध र नगेन्द्र लोंध चयन भएका छन् । अधिवेशनले ५५ सदस्यीय नगर कमिटी निर्माण गरेको छ । गैंडहवा र कन्चन गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको एमाले रुपन्देहीले जानकारी दिएको छ । गैंडहवामा भुवन रानाको अध्यक्षता र कन्चन गाउँपालिकामा दीनानाथ आचार्यको अध्यक्षतामा नेतृत्व चयन भएको छ ।
यस्तै कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा ईन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनिलकुमार कौशलको अध्यक्षतामा नेतृत्व चयन भएकोे छ । त्यस्तै मर्चवारिमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
त्यस्तै बुटवल उपमहानगर कमिटीको अध्यक्षमा किसन ज्ञवाली सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा शोभाखर पोखरेल चयन भएका छन् । सचिव तथा उपसचिवका २ वटा पदका लागि चुनाव हुने देखिए पनि सर्वसम्मतको प्रयास जारी छ ।
सिद्धार्थनगर नगरपालिकामा विहान ११ बजेदेखि निर्वाचनको प्रक्रिया अघि बढ्ने बताइएको छ । सिद्धार्थनगर समितिको अध्यक्षमा तीन जनाको उम्मेदवारी छ। अध्यक्ष पदका लागि धुव्रप्रसाद अधिकारी, चक्र बहादुर थापा र थानेश्वर पौडेलले उम्मेदवारी दिएका छन ।
उपाध्यक्षका लागि अर्जुन कुमार गिरी, सीता काफ्ले, लक्ष्मी केसीले सचिवका लागि नारायणप्रसाद भण्डारी र मनोजकुमार रिजाल , उपसचिव पदका लागि निशा भट्टराई , सरोज ठकुरी, रणबहादुर कुवंर, माया कडेंल, कुमार गुरुङले उम्मेदवारी दिएका छन । यस्तै देवदहमा दिउसो २ बजेपछि प्रक्रिया अघि बढ्ने छ । विहान ८ बजेदेखि नै प्रक्रिया अघि बढ्ने बताइएको बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकामा अहिलेसम्म पनि सहमति जुट्न सकेको छैन ।
तीनवटा नगरपालिका र एउटा गाउँपालिकाबाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ । सर्वसम्मतको प्रयास जारी रहेकाले नेतृत्व चयनमा केही ढिलाइ भएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।