भैरहवा । भैरहवाको फोहोर उठ्ने भएको छ । स्थानीयको अवरोधका कारण एक साता देखि उठ्न नसकेको फोहोर मंगलबार नगरपालिका र स्थानीय बीच सहमति भएपछि उठ्ने भएको हो ।
सिद्धार्थनगर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन समाधान सहितको कार्यक्रम संचालन गर्ने सहमति गरेपछि फोहोर व्यवस्थापन कार्य सुचारु भएको छ ।
नगरपालिकाले छलफलबाट अल्पकालिन रुपमा फोहोरमैलाको व्यवस्थापनका लागि प्रचलित कानुन बमोजिम उपभोक्ता समिति वा नगरपालिकाबाट टेण्डर आव्हान गरी ५४ दिन भित्र प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
त्यस्तै मध्यकालिन कार्यक्रम अन्तर्गत नगरका सबै बस्तीहरुका फोहोर घरमै छुटयाउनका लागि विभिन्न संघ संस्था निकायहरुको सहयोग र समन्वयमा अभियान सचेतना मुलक कार्यक्रम संचालन गर्ने र सोको लागि डस्टविन वितरण गर्ने, फोहोर संकलन गर्दा कुहिने र नकुहिने फोहोरलाई फरक फरक दिनमा उठाउने व्यवस्था मिलाउने ।
फोहोरको पुनः प्रयोग, प्रशोधन र न्युनिकरणका कार्यक्रमहरु निरन्तर रुपमा स्थानीय समुदायिक समिति, उपभोक्ता समिति मार्फत संचालन गर्न प्राथमिकता दिने ।
फोहोरमैलाको दीर्घकालिन समस्या समाधानको लागि सर्वदलिय, सर्वपक्षीय सहयोगबाट खारिद भएको जग्गामा दातृ निकायसँग सम्वय गरी फोहोरमैला व्यवस्थापनका कार्यहरु अगाडि बढाउने । वडा नम्बर १ र २ का प्रभावित जनताका लागि केन्द्रित गरी निशुल्क हेल्थ क्याम्पहरु संचालन गर्ने,
प्रभावित क्षेत्रमा आवश्यकता अनुसार पूर्वाधार निर्माण र सौन्दर्यीकरण कार्यहरु नगरपालिकाले संचालन गर्दै जाने ।
त्यस्तै दीर्घकालिन समाधानका लागि सिद्धार्थनगर नगरपालिकामा संचालन भएको आरयुडिपी कार्यक्रम मार्फत तयार भएको दीर्घकालिन सोचको खाका अनुसार सर्वदलिय, सर्वपक्षिय सहमति अनुसार कार्यान्वयन गर्दे जाने, विकल्पको रुपमा अन्य नयाँ अवधारणा तयार गर्नुपर्ने भएमा सोको समेत अवधारणा तयार गर्ने । सो कार्यका लागि २०७८ कार्तिक १५ गते सम्म नगरपालिकाले छलफलको सुरुवात गर्ने।
चालु आर्थिक वर्ष भित्रमा हालको कार्यपालिकाले अन्य स्थानमा फोहोरमैला व्यवस्थापनको दीर्घकालिन समस्या समाधानको लागि कार्य सुरुवात गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले गर्ने कामको समिक्षा गर्न १४ सदस्यीय समिति गठन गरी प्रत्येक महिना बैठक बस्ने निर्णय समेत छलफलबाट भएको छ । नगर प्रमुखका संयोजकत्वमा रहेको समितिमा सदस्यमा वडा नमबर १ र २ का वडा अध्यक्ष, नगर कार्यपालिकाको वातावरण समिति संयोजक, स्थानीय खुसिमान गुरुङ, राजाप्रताप शाही, सुशिल गुरुङ, समिर खान, हरिमाया गुरुङ, इन्दिरादेवी क्षेत्री, सशस्त्र प्रहरी बलको प्रतिनिधी, राजेन्दै सिंह खडका, दिपेन्द्र प्रताप शाही र सदस्य सचिवमा नगरपालिकाले तोकेको अधिकृत रहेका छन ।
सिद्धार्थनगरको फोहोर एक साता देखि स्थानीयको अवरोधका कारण उठ्न सकेको थिएन । अव्यवस्थित रुपमा फोहोर फाल्दै गएपछि दुर्गन्धित हुदै गएपछि निरन्तर फोहोर फाल्नु बाहेक सरोकारवाला निकायले डम्पिङ क्षेत्रको व्यवस्थापनमा कुनै चासो नदिएकोले स्थानीयले फोहोर फाल्न रोकेका थिए ।
