सत्तारूढ पाँच दलीय गठबन्धनले देशको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिउँसो भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना तथा बुधवारदेखि सुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुपर्ने धारणा राख्नुभएको थियो । प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब रहेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत गठबन्धनका अन्य नेताहरूको सहभागिता थियो । बैठकमा विपक्षी नेकपा एमालेले संसद् अवरोध गरेपछिको अवस्थाबारे पनि समीक्षा भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
यसअघि ललितपुरको हात्तीवनमा गठबन्धनका घटक शीर्ष नेताहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । त्यो बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल जसपा का अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।