भैरहवा । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रदेशमा एमाले विभाजित नभई सर्पले जस्तै कचुली फेरेको बताएका छन ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पौडेलले भने ‘नेकपा एमाले विभाजन हुन्छ भनेर नसोचे हुन्छ, एमाले विभाजन नभई सर्पले काचुली फेरेको हो, यसले एमालेलाई कुनै असर पर्दैन’
लुम्बिनी प्रदेशको पार्टीको इतिहासमा एक महत्वपूर्ण कोसे ढुंङा सावित हिजोको बसेको प्रदेश संगठन कमिटीको पांचौ बैठकले गरेको छ । कार्यदलले बुझाएको १० बुंदे सिफारिस लुम्बिनी प्रदेशका सबै जिल्लामा सिर्जनात्मक ढंगले कार्यान्वयन हुने पौडेलले बताए ।

कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको बताउदै पौडेलले कांग्रेस, माओवादी र जसपाका नेताहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवालाई हिम्मत छ भने अध्यादेश संसदबाट पारित गरेर देखाउन चुनौति दिए । उनले भने सरकार कानुन अनुसार काम गर्नुको सट्टा काम अनुसारको कानुन बनाउने खेलमा लागेको छ , यो देश र जनताका लागि दुर्भाग्य हो ।
एमाले विभाजनका लागि सरकारले अध्यादेश ल्याएर एमाले विभाजन गर्ने कोशिश गरिए पनि योजना विफल भएको उनले दावी गरे । पार्टीभित्र कुण्ठा र स्वार्थका निमित्त अध्यक्षमाथि प्रहार गरिएको उनले बताए । एमालेमा कति शक्ति छ भनेर केही हेर्न पर्दैन प्रतिपक्षमा हुंदा पनि एमालेसंग एक्लै प्रतिस्पर्धा गर्न नसकेर सत्ता पक्षले गठबन्धन गरेको हेरे पुग्छ पौडेलले भने ।
उनले नेकपा एकिकृत समाजवादीलाई कथित पार्टी भएको भन्दै माधव नेपाललले दाजुभाइसंग रिस उठेर आमामाथि बन्चरो प्रहार गरेको बताउदै माधव नेपालको पार्टीलाई पानीको फोकाको संज्ञा दिए । यस्तै एमसीसीको विषयमा पत्रकारहरुलाई प्रतिक्रिया दिदै नेता पौडेलले एमसीसी संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय लिने बताए । राष्ट्रको हितमा एमाले सधै अगाडि छ र राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छ ।
एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको आरोप समेत लगाए ।
बैठकले पार्टीले भदौ २७ गते भित्र जिल्लाका पार्टीको जिल्ला कमिटी बैठक सम्पन्न गर्ने, उनले आगामी भदौ ३० गते १२ वटै जिल्लामा बृहत कार्यकर्ता भेला आयोजना गर्ने, असोज मसान्तसम्म पार्टी सदस्यता नविकरण गर्ने, ९ सय ८३ वडाहरूमा कार्तिक ६ गते वडा अधिवेशन गर्ने, कार्तिक ९ गते १०९ पालिकामा पालिका अधिवेशन गर्ने त्यसपछि जिल्ला र प्रदेशको अधिवेशन गर्ने बताए ।

नेकपा एमाले लुम्बिनीले प्रदेशका सबै पार्टी कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्थामा फर्काउने निर्णय गरेको छ । पार्टी जिल्लाका पदाधिकारी र अरु तहका नेतृत्व समेत जेठ २ अघिकै अवस्थामा फर्काउने निर्णय बैठकले गरेको हो । रुपन्देहीमा भदौ ३० गते भव्य रुपमा जिल्ला कार्यकर्ता भेला आयोजना गर्ने बताउदै नेता पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति रहने बताए ।
प्रदेश समितिको संयोजक समेत रहेका पौडेलको अध्यक्षतामा भएको बैठकले पौडेलकै प्रस्तावमा नेकपा एमाले लुम्बिनीको अध्यक्षमा लिला गिरीलाई चयन गरिएको छ । , उपाध्यक्ष खेमबहादुर खड्का, सचिव भूमिश्वर ढकाल, उपसचिवमा दुर्गा थारु चयन भएको समेत पत्रकार सम्मेलन जानकारी दिएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरीको अध्यक्षता तथा सचिव सम्झना शर्माको संचालनमा सम्पन्न कार्यक्रममा नेताहरु लिला गिरी, गिरीधारी न्यौपाने दधिराम न्यौपाने, बैजनाथ चौधरी शिवराज सुवेदी, भुमिश्वर ढकाल, भोज प्रसाद श्रेष्ठ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।