भैरहवा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राज्य संरचना बिलकुलै गलत रहेको बताएका छन । शासक वर्गले शासन गर्ने आधारमा नै यो संरचना बनाएकोले मधेशी, जनजति पिछडा वर्गलाई उपेक्षा गर्ने दृष्टिकोणले निर्मित यो संरचना अव्यवहारिक अवैज्ञानिक छ यसलाई सुधार गर्नु पर्ने बताए ।
जनता समाजवादी पार्टी, नेपालले भैरहवामा आयोजना गरेको कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै शासकिय स्वरुप र संसदीय प्रणली असफल भएको सिद्ध भएकोले यसलाई बद्लनु पर्ने, राजनैतिक स्थिरता तथा विकास र राष्ट्रिय उत्थानका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणलीमा जानु पर्ने बताए ।
उनले अहिलेको निर्वाचन प्रणाली महङो भएकोले यसलाई बदल्नु पर्ने बताउँदै सिमान्तकृत वर्ग र गरिब नागरिक समेत लड्न सक्ने समानुपातिक निर्वाचन प्रणाली अगाडी बढाउनु पर्नेमा जोड दिए । यादवले लामो लडाई लडेर प्रतिगमनकारीलाई परास्त गरेको र लोकतन्त्रको रक्षा गरेको भन्दै लामो लडाईबाट प्राप्त भएका उपलब्धिहरुलाई जोगाउन कार्यकतालाई अनुरोध गरे ।
कार्यक्रममा बोल्दै यादवले संविधान अहिले पनि त्रुटिपूर्ण रहेको हुँदा यसमा सुधार र ७ वटा प्रदेशको संरचनालाई बदल्नु पर्ने बताए । उच्चस्तरिय राज्य पुर्नसंरचना आयोगले दिएका सुझाव अनुसार १० प्रदेश वा १० जोड १ प्रदेश उत्तम रहेको बताए । अहिलेको निर्वाचन प्रणली महगो र विकृत भएकोले सबै वर्ग चुनाव लड्नसक्ने गरी समानुपातिक निर्वाचन प्रणली तर्फ लैजानु पर्ने बताए । लोकतन्त्रको बदला लुटतन्त्र र धनतन्त्र भइरहेको छ यसलाई समाप्त गर्न निर्वाचन प्रणली बद्लनु पर्ने छ जुन विश्वका ७० बढि देशमा छ उनले भने ।
पार्टीका वरिष्ठ नेता अशोक राईले पहिचानको संघीयता र प्रदेशलाई स्वायत्त बनाउनुपर्ने जसपाको माग रहेको बताए । उनले कार्यकर्तालाई योजनावद्ध, उत्साहपूर्ण, सक्रिय र बुद्धिमतापूर्ण तरिकाले अगाडी बढे आगामी चुनावमा राम्रो परिणाम ल्याउने भएकोले कार्यकर्तालाई सोही अनुसार अगाडी बढ्न अनुरोध गरे ।
जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेशको समन्वयमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री महेन्द्र राय यादव, नवराज सुवेदी, नर्सिङ चौधरी, अमृता अग्रहरी, सहसराम यादव, अशोक कुमार यादव लगायत नेताहरुले महन्थ ठाकुर समूहले प्रतिगमनलाई साथ दिएको बताए । जसपा लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा कार्यक्रम भएको हो ।