काठमाण्डौ । माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि नेताहरूको सनाखत भएको छ । निर्वाचन आयोगले दिएको समयमा बुधवार यस पार्टीका नेता तथा सांसदहरूको सनाखत भएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट विभाजित नेपाल पक्षका नेताहरूले सरकारले २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याएसँगै नेपाल पक्षले निर्वाचन आयोगमा पार्टी दर्ता गरेको हो । नेपाल पक्षको नेकपा एकीकृत समाजवादी पार्टीका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेसँगै पार्टीले निर्वाचन आयोगमा दल दर्ता प्रमाणपत्र पाउने भएको छ ।
सनाखतपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा एकीकृत समाजवादीपार्टीका नेता मेटमणि चौधरीले अहिले ५५ केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेको र विक्रम शाही, सोमप्रसाद पाण्डे,रामप्रित पासवान र राजन राई चार जनाको सनाखतका बारेमा निर्वाचन आयोगमा छलफल भइरहेको बताउनुभयो । उहाँले सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टको पनि निर्वाचन आयोगले सनाखत गर्न दिए ३४ जना सांसद पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘५६ मध्ये भाष्कर काफ्लेबाहेक ५५ जना केन्द्रीय सदस्यले सनाखत गर्नुभएको छ । जेएन ९झलनाथ खनाल० कमरेड अहिले उपचाररत हुनुहुन्छ, उहाँले पनि सनाखत गरिसक्नुभएको छ, विक्रम शाहीलगायत अन्य चार केन्द्रीय सदस्यको बारेमा निर्वाचन आयोगमा छलफल भइरहेको छ, यदि उहाँहरूले पनि सनाखत गर्न पाउनुभयो भने यो सङ्ख्या ५९ पुग्छ, त्यस्तै सांसदमा ३० जनाले सनाखत गर्नुभएको छ, सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदा भट्टको सनाखत बाँकी छ, निर्वाचन आयोगले दिएमा सांसदको सङ्ख्या ३४ हुन्छ, हामीले अपेक्षा गरेको भन्दा धेरै सनाखत भएको छ ।’
नेता चौधरीले नेकपा एकीकृत समाजवादी पार्टी चार महिना पछाडि सबैभन्दा ठूलो पार्टी बन्ने बताउनुभयो । माधव नेपाल पक्षका सांसदहरूको दल दर्ताको निवेदनपछि निर्वाचन आयोगले सनाखतका लागि आज ९बुधवार० ११ बजेदेखि २ बजेसम्मको समय दिएको थियो ।