भैरहवा । हाल पार्टीमा आएको विभाजनको समस्या नदोहोरिने गरी विधान मस्यौदा तयार गर्न नेकपा एमाले नेतृत्वलाई पार्टी नेता कार्यकर्ताले सुझाव दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विधान महाधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिन शुक्रबार भैरहवामा आयोजना गरेको विधान मस्यौदा माथि परामर्श तथा सुझाव संकलन कार्यक्रममा उपस्थितहरुले पार्टीमा अनुशासनलाई कडाईका साथ पालना गर्ने गरी विधान तयार गर्नुपर्ने बताए ।

एमालेले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन तय गरेको छ । पार्टीलाई बलियो , लोकतान्त्रिक, समावेशी र जनताको साझा बनाउने गरी विधान गर्न आम नेता कार्यकर्ताको सुझाव लिईने नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर ३ का ईन्चार्ज हितराज पन्थीले बताउनु भयो ।
कर्यक्रममा देखिएको उपस्थिति र सक्रिय सहभागिताले पार्टीलाई भविश्यमा थप मजबुद बनाउनेमा आफु विश्वस्त रहेको एमाले सिद्धार्थनगरका अध्यक्ष चोपलाल आचार्यले विश्वास व्यत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य, रुपन्देही जिल्ला इञ्चार्ज तथा लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका पूर्व सभापति दधिराम न्यौपानेले देशका ७७ वटै जिल्लाबाट सुझाव लिने कार्य भइरहेको बताउनु भयो । उहांले लामो समयसम्म आफै नेतृत्व गरेको पार्टी काम लाग्दैन भनेर अर्को पार्टी निर्माण गर्न केही नेताहरु लागेको टिप्पणी गर्नुभयो । उहांले पार्टीलाई अनुशासित र मर्यादित बनाउन आवश्यक रहेको बताउनु भयो ।
पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाललाई इंगित गर्दै नेता न्यौपानेले भन्नुभयो, ‘पांच वर्षसम्म पनि सरकार टिक्न दिनुभएन, दुई वर्ष नबित्दै नेकपा नेतृत्वको सरकारलाई अपदस्त गराउन खोज्नुभयो, प्रयास जारी राख्नुभयो । अध्यक्ष केपी ओलीका पनि केही कमी कमजोरी भए पनि ओली भन्दा बढी गणतान्त्रिक, समाजवादी र लोकतान्त्रिक नेता शेर बहादुर देउवा नभएको उहांले दावी गर्नुभयो । नेता न्यौपानेले माधव कुमार नेपाल र प्रचण्डप्रति ईङ्गी तगर्दै उचाईमा पुगेको व्यक्तिले गलत कदम चाले त्यो आफै सिद्धिने बताउनु भयो । उहांले ठीक कदम चाल्न नसकिए जतिसुकै ठूला कुरा गरेर पनि अर्थ नहुने दावी गर्नुभयो । ‘पार्टी बाहिर गएका साथीहरु पार्टीमा फर्किनुभएको अवस्थामा उहांहरुलाई सम्मान नै गरिन्छ, ’उहांले भन्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज एकराज विश्वकर्माले केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरेको बताउनुभयो । उहांले महाधिवेशनमा पराजित भएका नेताहरुले अध्यक्ष आफूलाई दिनुपर्ने माग गर्दै अर्को पार्टी दर्ता गराएकाले समयक्रमले को गलत र को सही भन्ने कुरा पुष्टि गर्ने बताउनु भयो । नेता विश्वकर्माले केपी ओली जनताको मनमा बस्न सफल भएको बताउनु भयो । उहांले नेपाली जनताले विश्वास गरेको पार्टी एमाले भएको दावी गर्नुभएको छ ।
एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तुल्सी प्रसाद चौधरीले पार्टीलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहांले पार्टीलाई कमजोर बनाउन खोज्ने व्यक्तिहरुको समयमै पहिचान गर्न आवश्यक रहेको बताउनु भयो ।
एमाले रुपन्देहीका सचिव विश्वराज बराल (अनुप), नेता भरत कुमार पोखरेल, लक्ष्मी कोइराला (भावना), उमा अधिकारी, प्रेम कुमार सेञ्चुरी, नारायण प्रसाद भण्डारी, सीता ढुंगाना काफ्ले, बाबुराम भट्टराई, प्रा.डा. कपिलदेव लामिछाने लगायतले बोल्दै पार्टीलाई थप अनुशासित बनाउनुपर्नेमा जोड दिनुभयो ।
एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ३ को आयोजनामा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले विधान मस्यौदामाथि सुझाव दिएका छन् । कर्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीको अध्यक्षता तथा क्षेत्रीय सचिव प्रेम गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।