बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी इञ्चार्ज शंकर पोखरेलले एमाले आस्था र विश्वासले बनेको पार्टी भएकाले कसैले टुक्राउन चाहेर नटुक्रिने बताएका छन ।
नेकपा एमाले बुटवल उपमहानगर कमिटिले बुटवलमा आयोजना गरेको विधान संशोधन मस्यौदामाथिको छलफल कार्यक्रममा बोल्दै पाेखरेलले पार्टी विभाजन गरी केही नेता जादैमा कार्यकर्ता नजाने दाबी गरे ।
“एमाले कम्युनिष्ट आन्दोलनको मूलधार हो, केही नेताहरु बहकावमा परेर बाहिरीए पनि उहाँहरुलाई ठिक गर्ने काम कार्यकर्ताको हो”, पोखरेलले भने,
नेता पोखरेलले जीवनका कठिन १५ वर्ष जेल जीवन बिताएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक जीवन समाप्त पार्ने खेल भएको जनाउँदै औलीको पार्टी र देशप्रतिको निष्ठामाथी प्रश्न गर्नु भनेको कु को प्रयास भएको बताए ।
नेता पोखरेलले नेकपा भित्र उत्पन्न संकटको कारक पुष्पकमल दाहाल रहेको बताउँदै उहाँले दाहालको अस्थिर चरित्रले गर्दा नै पार्टीमा यो अवस्था आएको उल्लेख गरे । विभाजित कम्युनिष्टलाई एक बनाउन, मुलुकमा ठूला विकास निर्माणका काम अघि बढाउन तथा राष्ट्रिय स्वाभिमानको सवालमा ओली नेतृत्वको सरकारले नयाँ उचाइ हासिल गरेको उनको भनाइ छ । “ओलीको नेतृत्वले सामाजिक अराजकतालाइ समेत नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्यो । उहाँको भूमिकाबारे भ्रम छरेर नेपाल पक्षले आफ्नो स्तर घटाएको छ,” उनले भने ।
कार्यक्रममा पाटीएका केन्द्रिय इञ्चार्ज दधिराम न्यौपानेले अहिले बाटो बिराएका नेतालाई समयले पाठ सिकाउने बताए । कार्यक्रममा एमालेका नेताहरु एकराज विश्वकर्मा, नेत्र पन्थी, शिवराज सुवेदी, सावित्रा अर्याल, तेजेन्द्र केसी, किसन ज्ञवाली लगायतले बोल्दै पार्टीलाई बलियो बनाउन प्यानल निषेध गर्ने, सदस्यता नविकरण सहज बनाउने लगायतका विषयमा विधान संसोधन हुनुपर्ने बताए । बटवल उपमहानगरकमिटिले सबै वडाबाट विधान संशोधन मस्यौदामाथि सुझाव लिने कमिटिका अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए । एमाले आगामी भदौमा विधान अधिबेशनको तयारी गरेको जनाएको छ ।