बुटवल । एमालेको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ । एमालेले आफ्ना सांसदलाई गरेको कारवाहीको सूचना सभामा पढेर सुनाउन सभामूख पूर्णबहादुर घर्तीसमक्ष माग राख्दै मंगलबार र बुधबारका दुबै बैठकहरु अवरुद्ध गरेको हो ।
एमालेले आफ्ना प्रदेशसभा सदस्यहरुलाई पार्टीले कारवाही गरेको र सोही अनुसार पदमुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गराएकोमा सा अनुसार पदमुक्तको सूचना नआएको भन्दै प्रदेशसभाको पहिलो बैठकबाटै अवरोध शुरु गरेको छ ।
मंगलबार मात्र एमालेले पार्टीले कारवाही गरेको भन्दै प्रदेशसभा सदस्य अजय शाही र विमला वलीलाई पदमुक्त गर्न संसद सचिवालयमा निवेदन दर्ता गराएको थियो ।
आजको बैठकमा प्रतिपक्षका सांसदहरुको नारावाजीका बीच सभामुख घर्तीले कारवाहीको पत्र प्रशासनिक कार्यप्रक्रिया अगाडि बढिरहेकाले अहिले सुनाउन नमिल्ने बताए । उनले प्रतिपक्ष एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललाई कारवाहीका लागि थप आवश्यक काजगपत्रहरु समेत पेश गर्न आग्रह गरेको बताए ।
तर, एमालेका सांसदले भने सभामुख निष्पक्ष नभएको भन्दै नारावाजी गरेका छन् । रोष्ट्रम घेराउ गर्दै उनीहरुले संसदीय सर्वोच्चतालाई कायम राख्न सभामूख निष्पक्ष हुनुपर्ने माग राख्दै तत्काल कारवाहीको पत्र पढेर सुनाउन माग राखेका छन् ।
सदन निरन्तर अवरुद्ध भएपछि प्रदेश सभामा अध्यादेश पेश हुन पाएका छैनन् ।